सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले “विकास ऋणपत्र २०८७” जारी गर्ने घोषणा गरेको छ। यस अन्तर्गत छ अर्ब रुपैयाँ बराबरको पाँच वर्षे अवधिको ऋणपत्र जारी गरिनेछ र यसको ब्याजदर बोलकबोल मार्फत निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकले यसमा लगानी गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले फागुन २६ गते दिउँसो ३ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ भने ऋणपत्र फागुन २७ गते निष्कासन गरिनेछ। ऋणपत्रको साँवा तथा अन्तिम ब्याज भुक्तानी २०८९ फागुन १५ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने जनाइएको छ।
कुल निष्काशित रकममध्ये ८५ प्रतिशत (५ अर्ब १० करोड रुपैयाँ) प्रतिस्पर्धी बोलवालाका लागि र १५ प्रतिशत (९० करोड रुपैयाँ) अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको छ। अप्रतिस्पर्धी समूहमा पूर्ण माग नआए बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई वितरण गरिनेछ भने बढी माग परेमा समानुपातिक रूपमा बाँडफाँड गरिनेछ। प्रतिस्पर्धी बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रमसम्म मिलाएर आवश्यक रकमसम्म पुगेपछि कायम हुने दरलाई “एकल ब्याजदर” मानिनेछ र सो दर र सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सबैलाई सोही दरमा ऋणपत्र उपलब्ध गराइनेछ।
ऋणपत्र खरिदको न्यूनतम सीमा ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा कुल निष्काशित रकमको दायराभित्र ५० हजारका गुणनफलमा हुनुपर्नेछ। लगानीकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी विधिबाट मात्र सहभागिता जनाउन सक्नेछन्। यसैबीच, “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू अप्रतिस्पर्धी बोलवालाको रूपमा सहभागी हुन पाउने छैनन्। प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर दशमलवपछि दुई अंकसम्म उल्लेख गर्नुपर्नेछ भने बहु–ब्याजदरमा पनि बोल पेश गर्न सकिनेछ। अप्रतिस्पर्धी बोलवालाले मात्र रकम उल्लेख गरे पुग्नेछ र उनीहरूलाई प्रतिस्पर्धी प्रक्रियाबाट निर्धारण भएको एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ। यो ऋणपत्र सार्वजनिक लगानीकर्ताका लागि दीर्घकालीन सुरक्षित लगानीको अवसर बन्ने अपेक्षा गरिएको छ।

Online Arthik









