नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडान सञ्चालन गर्ने भएको छ। यात्रुहरूको सहज यात्रालाई ध्यानमा राख्दै निगमले ११ मार्च २०२६ मा विशेष उडान गर्ने जानकारी दिएको हो।
निगमका अनुसार काठमाडौँबाट दुबईका लागि विशेष उडान ११ मार्च २०२६ राति ११:१५ बजे (स्थानीय समय) प्रस्थान गर्नेछ। त्यसैगरी दुबईबाट काठमाडौँ फर्कने उडान १२ मार्च २०२६ बिहान ४:१० बजे (स्थानीय समय) प्रस्थान गर्ने तालिका तय गरिएको छ। यी दुवै उडानहरू निगमको नियमित उडान समय तालिकाअनुसार नै सञ्चालन हुने बताइएको छ। निगमले २८ फेब्रुअरीदेखि ९ मार्च २०२६ बीच टिकट लिएर पनि विभिन्न कारणले यात्रा गर्न नसकेका यात्रुहरूका लागि विशेष व्यवस्था गरेको जनाएको छ। त्यस्ता यात्रुहरूले ११ मार्चको विशेष उडानमार्फत यात्रा गर्न चाहेको अवस्थामा आफ्नो टिकट निगमले उपलब्ध गराएको आधिकारिक इमेल ठेगानामा पठाएर पुनः प्रमाणीकरण गराउनुपर्नेछ। टिकट प्रमाणीकरण भएपछि मात्र यात्रुहरूले सोही प्रमाणित टिकटका आधारमा यात्रा गर्न पाउने व्यवस्था गरिएको छ।
निगमले टिकट प्रमाणीकरण नगरिएका यात्रुहरूलाई विमानस्थल नजान अनुरोध गरेको छ। निगमबाट प्रमाणीकरण भएका यात्रुहरूलाई मात्र विमानस्थल प्रवेश गरी यात्रा गर्न अनुमति दिइनेछ। साथै जहाजमा उपलब्ध सिटका आधारमा पहिलेदेखि यात्रा गर्न नपाई रोकिएका यात्रुहरूलाई ‘पहिले आउनेलाई पहिले सेवा’ को आधारमा टिकट उपलब्ध गराइने निगमले जनाएको छ। नेपालबाट दुबई जान चाहने तथा दुबईबाट नेपाल फर्कन चाहने यात्रुहरूले आफ्ना टिकटहरू सम्बन्धित इमेलमा पठाएर प्रमाणीकरण गराउनुपर्नेछ। निगमले यात्रुहरूलाई विमानस्थल जानु अघि आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशित सूचना नियमित रूपमा हेर्न आग्रह गरेको छ।
यसैबीच मध्यपूर्व क्षेत्रमा देखिएको असहज परिस्थिति तथा सुरक्षा संवेदनशीलताका कारण कुनै पनि समयमा उडान स्थगित वा रद्द हुन सक्ने सम्भावना रहेको निगमले जनाएको छ। यस्तो अवस्थामा यात्रा अवरुद्ध भएमा निगमले थप आर्थिक वा अन्य उत्तरदायित्व वहन गर्न नसक्ने पनि स्पष्ट पारिएको छ।
यात्रुहरूलाई परेको असुविधाप्रति निगमले क्षमायाचना गर्दै आवश्यक जानकारी लिएर मात्र यात्रा व्यवस्थापन गर्न सबैलाई अनुरोध गरेको छ।

Online Arthik









