टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये १२ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ, जसका लागि भोजपुर जिल्ला का बासिन्दाले आवेदन दिन सक्नेछन्। त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरिएको छ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते बन्द हुनेछ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धक तथा आयोजनाको कार्यालय भोजपुरका साथै प्रभु बैंक को भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनल को भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया