नेपाल प्रहरी ले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले का अनुसार प्रदूषण बढेकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सतर्कता अपनाउन अनुरोध गरिएको हो।

प्रहरीले छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन, सकेसम्म समूहमा मिलेर वा एकअर्कालाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न तथा आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन आग्रह गरेको छ। त्यस्तै वायु प्रदूषणको स्तर उच्च भएको समयमा बाहिरी गतिविधि कम गर्न पनि अनुरोध गरिएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूले थप सावधानी अपनाउन र नियमित रूपमा मास्क प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ। यदि श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखिएमा नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग तत्काल सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

मौसममा आएको परिवर्तनसँगै नेपालमा प्रदूषणको मात्रा बढ्दै गएको छ, जसको प्रभाव विशेषगरी उपत्यकालगायत सहरी क्षेत्रमा बढी देखिएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले पनि यो समयमा स्वास्थ्यमा विशेष ध्यान दिन सबैलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया