नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंक ले करिब ७ अर्ब ६४ करोड रुपैयाँ (५ करोड २० लाख अमेरिकी डलर) बराबरको ऋण उपलब्ध गराउने भएको छ। विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले उक्त ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो। यस रकमबाट नेपालमा वायु प्रदूषण नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

विश्व बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो सहयोगमार्फत ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रोजेक्ट’ सञ्चालन गरिनेछ। परियोजना विशेषगरी उच्च वायु प्रदूषणको जोखिम रहेका काठमाडौं उपत्यका र तराईका केही क्षेत्रमा केन्द्रित रहनेछ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ। उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोग, प्रदूषण नियन्त्रण उपकरण जडान तथा वातावरणमैत्री उत्पादन प्रणाली लागू गर्न सहयोग गरिने छ। परियोजना उद्योग विभाग र वातावरण विभाग मार्फत कार्यान्वयन हुनेछ। विश्व स्वास्थ्य संगठनका अनुसार काठमाडौं उपत्यका दक्षिण एसियाकै प्रदूषित सहरमध्ये एक हो। विशेष गरी सवारी साधनको धुँवा, उद्योगबाट निस्कने धुँवा, सडक धुलो र खुला रूपमा फोहोर जलाउने प्रवृत्तिले वायु प्रदूषण बढाएको विज्ञहरूले बताएका छन्।

सरकारले पछिल्लो समय स्वच्छ ऊर्जा प्रयोग बढाउने, सार्वजनिक यातायातलाई विद्युतीय बनाउने र उद्योगहरूमा वातावरणीय मापदण्ड कडाइका साथ लागू गर्ने नीति अघि बढाएको छ। विज्ञहरूले विश्व बैंकको सहयोगले प्रदूषण नियन्त्रण, जनस्वास्थ्य सुधार र दिगो आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको बताएका छन्।

तपाईको प्रतिक्रिया