ग्लोबल आइएमई बैंक ले विदेशमा बसोबास गरिरहेका नेपालीलाई लक्षित गर्दै विशेष बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको छ। बिहीबार आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघकाका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका हुन्। बैंकका अनुसार नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत विशेष बैंकिङ सेवा प्रदान गरिनेछ।

यस विभागबाट विदेशमा रहेका नेपालीले खाता खोल्ने, कर्जा लिने, कारोबारसम्बन्धी सेवा प्राप्त गर्ने, पुँजीबजार तथा लगानी व्यवस्थापनलगायतका विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। ग्राहकलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित विभागीय कार्यालयमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरेको छ। साथै विभिन्न देशमा रहेका नेपालीलाई लक्षित गर्दै सहायता कक्ष स्थापना गरी भविष्यमा २४ सै घण्टा सेवा प्रदान गर्ने योजना पनि बैंकले जनाएको छ।

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोरालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवा विस्तार गर्दै आएको छ। बैंकले रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना तथा विभिन्न देशमा रहेका कर्मचारीमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

विभागको उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले विदेशमा रोजगारी तथा अन्य कारणले बसोबास गर्ने नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै नयाँ विभागबाट विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग थप जोडिन सहयोग पुग्ने बताए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पनि यस विभागमार्फत विदेशमा रहेका नेपालीले नेपालमै बसेजस्तै सहज रूपमा बैंकिङ सेवा लिन सक्ने र स्वदेशमा लगानी गर्न समेत सहज हुने बताए।

उक्त विभागको कार्यालय काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहनेछ। बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई विश्वभर रहेका नेपालीका लागि भरपर्दो बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, वरिष्ठ व्यवस्थापन टोली तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया