नेपालको पहिलो खुलामुखी म्युचुअल फण्ड ‘एनआईबिएल सहभागिता फण्ड’ नेपालकै सबैभन्दा ठूलो म्युचुअल फण्ड बन्न सफल भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि यस फण्डको आकार रु. ६ अर्बबाट वृद्धि भई रु. १० अर्ब  (१ अर्ब इकाई) कायम गरिएको छ ।

योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडका अनुसार, विगत केही समयदेखि प्राविधिक कारणले रोक्का रहेका इकाईहरू लगानीकर्ताको हितग्राही (Demat) खातामा जम्मा गर्ने प्रक्रिया पनि सम्पन्न भएको छ ।

डिम्याटमा इकाई जम्मा र ढिलाइप्रति क्षमायाचना

नेपाल धितोपत्र बोर्डले जारी गरेको बीज पुँजी सम्बन्धी निर्देशिका अनुसार, मिति २०८२ चैत ५ गतेदेखि लागू हुने गरी फण्डको आकार वृद्धि गरिएसँगै इकाईहरू क्रेडिट गरिएको हो । क्यापिटलले बीज पुँजीको व्यवस्थापनका कारण लगानीकर्ताको डिम्याट खातामा इकाई जम्मा हुन भएको ढिलाइप्रति आधिकारिक रूपमा क्षमायाचना समेत गरेको छ ।

लगानीकर्ताहरूले अब आफ्नो ‘मेरो शेयर’ पोर्टलमा लग-इन गरी आफ्नो खातामा इकाईहरू सफलतापूर्वक जम्मा भए/नभएको जाँच गर्न सक्नेछन् ।

फण्डको विशेषता र प्रदर्शन

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कोष प्रवर्द्धक रहेको यो फण्ड २०७६ असार २४ गतेदेखि सञ्चालनमा आएको हो । खुलामुखी योजना भएकाले यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छैन, तर यसको खरिद तथा बिक्री सिधै योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटलमार्फत गर्न सकिन्छ ।

यस फण्डले विशेषगरी: इक्विटी (सेयर), डिबेन्चर र ट्रेजरी बिल, मुद्दती निक्षेप जस्ता स्थिर आय हुने क्षेत्रमा लगानी गर्दै आएको छ।

हाल नेपालमा १३ वटा खुलामुखी र ४३ वटा बन्दमुखी म्युचुअल फण्डहरू सञ्चालनमा रहेका छन्, जसमध्ये एनआईबिएल सहभागिता फण्डले आफ्नो सशक्त उपस्थितिसँगै बजारको नेतृत्व गरिरहेको छ ।

तपाईको प्रतिक्रिया