नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा नगद प्रवाह बढेर तरलता अधिक हुन थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत पैसा तान्न लागेको हो।

यसअघि गत चैत ३० गते ३५ अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले पुनः ५६ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। छोटो अवधिमै लगातार बजारबाट रकम खिच्ने कदम चालिएको छ।राष्ट्र बैंकले विभिन्न शर्तसहित निक्षेप संकलनको बोलकबोल (अक्सन) प्रक्रिया सञ्चालन गर्ने जनाएको छ। निक्षेपको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ २७ गते गरिनेछ।निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया