एनआईसी एशिया लघुवित्त वित्तीय संस्था ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार देखाउँदै खुद नाफा ८ हजार १३६.९८ प्रतिशतले बढाएर १० करोड ६९ लाख १६ हजार रुपैयाँ पुर्याएको छ। गत वर्षको सोही अवधिमा कम्पनीले केवल १२ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशतले वृद्धि भई ८५ करोड ४० लाख ७० हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६९.४५ प्रतिशतले बढेर ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ पुगेको छ। साथै, सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा ८ हजार ३५६.०३ प्रतिशतले बढेर १५ करोड ९० लाख ५८ हजार रुपैयाँ पुगेको छ।
यद्यपि, सुधार देखिए पनि चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। सोही अवधिमा निक्षेप तथा सापटी ७.८६ प्रतिशतले बढेर २० अर्ब ७४ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १२.३१ प्रतिशतले वृद्धि भई १९ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। तर, खराब कर्जा (NPL) दर भने बढेर १६.५९ प्रतिशत पुगेको छ, जुन गत वर्ष १३.५५ प्रतिशत थियो, जसले जोखिम पक्ष अझै चुनौतीपूर्ण रहेको संकेत गर्दछ।

Online Arthik










