मितेरी डेभलपमेन्ट बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ। बैंकको खुद नाफा ४.०६ प्रतिशतले बढेर ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९ करोड २४ लाख रुपैयाँ थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी उल्लेखनीय रूपमा ६७ प्रतिशतले बढेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ। साथै, खुद शुल्क तथा कमिसन आम्दानी २ करोड ८२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २५ करोड ५७ लाख रुपैयाँ र सञ्चालन नाफा १३ करोड ७४ लाख रुपैयाँ रहेको छ।
बैंकको वितरणयोग्य नाफा १० करोड ७ लाख रुपैयाँ रहेको छ, जसले करिब ९.९० प्रतिशत लाभांश दिने क्षमता देखाउँछ, यद्यपि यो अघिल्लो वर्षको १०.६५ प्रतिशतभन्दा केही कम हो। १ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ३७ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
निक्षेप र कर्जा दुवैमा बैंकले उल्लेखनीय वृद्धि गरेको छ। चैत मसान्तसम्म बैंकले ८ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ, जुन क्रमशः ३१.८८ प्रतिशत र ३२.२६ प्रतिशतले वृद्धि हो।
प्रदर्शन सूचकहरूतर्फ हेर्दा, प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३९.३६ रुपैयाँ रहेको छ। साथै, खराब कर्जा ०.७८ प्रतिशतबाट घटेर ०.४८ प्रतिशतमा झरेको छ, जसले बैंकको कर्जा गुणस्तर सुधारिएको संकेत गर्छ। बैंकको आधार दर ६.०५ प्रतिशत कायम रहेको छ।

Online Arthik









