पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुहरूको मूल्यमा भइरहेको निरन्तर वृद्धिप्रति चिन्ता व्यक्त गर्दै जेनजी २.० ले सरकारको ध्यानाकर्षण गराएको छ। संस्थाका प्रवक्ता अविन लिम्बु द्वारा जारी विज्ञप्तिमा पछिल्लो समय इन्धनको मूल्यवृद्धिले यातायात, खाद्यान्न, निर्माण तथा दैनिक उपभोग्य वस्तुहरूको लागत उल्लेखनीय रूपमा बढाएको उल्लेख गरिएको छ। यसका कारण आम नागरिकको जीवनयापन कष्टकर बन्दै गएको र विशेषगरी मध्यम तथा निम्न आय वर्ग बढी प्रभावित भएको जनाइएको छ।
विज्ञप्तिमा वर्तमान आर्थिक अवस्थालाई संवेदनशील रूपमा मूल्यांकन गर्दै सरकारले समयमै प्रभावकारी हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। यसै सन्दर्भमा जेनजी २.० ले सरकारसमक्ष पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता कायम गर्न, कर तथा भन्सार शुल्क पुनरावलोकन गरी मूल्य नियन्त्रणका उपाय अवलम्बन गर्न, महँगी नियन्त्रणका लागि दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउन तथा आम नागरिकलाई तत्काल राहत प्रदान गर्ने कार्यक्रम कार्यान्वयन गर्नुपर्ने मागहरू अघि सारेको छ। साथै देशको समग्र आर्थिक स्थायित्व र नागरिकको हितलाई केन्द्रमा राखी सरकारबाट जिम्मेवार र संवेदनशील निर्णयको अपेक्षा गरिएको छ।

Online Arthik










