पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वस्तु तथा सामानको आयात उल्लेखनीय रूपमा बढेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा रु. ६ खर्ब ९४ अर्ब ५ करोडबराबरको आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा रु. ६ खर्ब १३ अर्ब ६१ करोडको आयात भएको थियो।
आयात संरचनालाई हेर्दा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा रहेको छ। चालु आर्थिक वर्षमा मात्र रु. १ खर्ब ४८ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ, जुन गत वर्षको सोही अवधिमा रहेको रु. १ खर्ब ४० अर्ब १० करोडभन्दा बढी हो।त्यसैगरी, फलाम तथा फलामजन्य सामग्री, भटमासको कच्चा तेल, मेसिनरी तथा पार्टपुर्जा तथा इलेक्ट्रिक उपकरणहरूको आयात पनि वृद्धि भएको छ। तथ्याङ्कअनुसार नौ महिनामा रु. ६२ अर्ब २६ करोडबराबरको फलाम तथा फलामजन्य सामग्री, रु. ५० अर्ब ४० करोडको भटमासको कच्चा तेल, रु. ४९ अर्ब १३ करोडको मेसिनरी तथा पार्टपुर्जा र रु. ३४ अर्ब १९ करोडबराबरको इलेक्ट्रिक मेसिनरी तथा उपकरण आयात गरिएको छ।अर्कोतर्फ, आयात वृद्धिसँगै राजस्व संकलन पनि सन्तोषजनक देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा भन्सार कार्यालयले रु. १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व संकलन गरेको जनाएको छ।
आयातमा भएको यो वृद्धि आर्थिक गतिविधि विस्तारको संकेत मानिए पनि बढ्दो आयातले व्यापार घाटामा थप दबाब पर्ने चिन्ता समेत व्यक्त गरिएको छ।

Online Arthik









