रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम प्रयोग गरी ३७ अतिविपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन्। वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट गरिएका ती परिवारको बिमा शुल्क उनले आफ्नै पछिल्लो तीन महिनाको तलब–भत्ताबाट व्यहोरेका हुन्।

यसअघि पनि उनले तलब–भत्ता तथा ‘मायाको चिनो’बाट प्राप्त रकम प्रयोग गरी करिब २०० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिसकेका छन्। उनका अनुसार वार्षिक रूपमा करिब ३,५०० परिवारलाई स्वास्थ्य बिमामा समेट्ने कार्यक्रम सञ्चालन गरिएको थियो, तर ‘जेनजी आन्दोलन’पछि उक्त कार्यक्रम रोकिएको छ।नगरपालिकाले फजुल खर्च कटौती गर्न औपचारिक कार्यक्रममा खादा तथा ‘मायाको चिनो’ नलिने नीति लिएको छ। त्यसबाट बचत भएको रकम स्वास्थ्य शाखाको कोषमा जम्मा गरिँदै आएको छ र निःशुल्क स्वास्थ्य बिमा तथा अन्य सामाजिक काममा प्रयोग भइरहेको छ।

यसअघि पनि प्रमुख सापकोटाले आफ्नै तीन महिनाको तलबबाट रत्ननगर–१२ स्थित एक विद्यालयका विद्यार्थीलाई कापी–कलम र ट्र्याकसुट वितरण गरेका थिए। साथै, उनले १०० भन्दा बढी विद्यार्थीलाई व्यक्तिगत रूपमा छात्रवृत्ति पनि प्रदान गर्दै आएका छन्।प्रमुख सापकोटाले “निःशुल्क स्वास्थ्य र शिक्षा जनताको नैसर्गिक अधिकार हो” भन्दै राज्यले सबैलाई यस्ता सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने धारणा राखेका छन्। आगामी आर्थिक वर्षको बजेटमा विपन्न वर्गका लागि अझ प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रम समेट्ने लक्ष्य पनि उनले व्यक्त गरेका छन्।

उनका अनुसार विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको सुविधा लिन सक्नेछन्। उपचारमा समस्या हुने नागरिकका लागि रु ३० लाखको ‘स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरिएको छ। साथै भरतपुर अस्पतालमा विपन्न उपचार कोष, क्यान्सर अस्पताल चितवनमा थप उपचार सहयोग, र रत्ननगर–२ मा निःशुल्क ब्लड बैंक सेवा सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया