काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढ्न थालेको छ। केही समयअघि वर्षाका कारण सुधारिएको वायु गुणस्तर अहिले अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ।

एयर क्वालिटी इन्डेक्स  अनुसार मङ्गलबार दिउँसो करिब ९२ रहेको वायु गुणस्तर सूचकांक आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ। यस स्तरले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ। एयर क्वालिटी इन्डेक्स  मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति र वन डढेलोका घटनाले प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन्। उनका अनुसार वर्षा भएमा हावामा रहेका कणहरू जमिनमा बस्ने भएकाले प्रदूषण घट्छ, तर अहिले सुक्खा अवस्थाले धुलो–धुवाँ वायुमण्डलमै थुप्रिएको छ।यस्तै जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्न सक्ने संकेत दिएका छन्।

विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई बढी पर्ने जनाइएको छ। अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया