बेनी मा शान्ति पार्क निर्माण गर्ने योजना अन्योलमा परेको छ। पार्क निर्माण गर्ने स्थान टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिका ले अघि सारेको योजना कार्यान्वयन हुन सकेको छैन।
म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ लागत अनुमानसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिए पनि काम अघि बढ्न नसक्दा स्थानीयवासी निराश भएका छन्।गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिका र गण्डकी प्रदेश सरकार ले २०–२० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए भने चालु वर्षमा नगरपालिकाले २५ लाख रुपैयाँ छुट्याएको छ। तर, निर्माण स्थल टुङ्गो नलागेकै कारण बजेट खर्च हुन सकेको छैन।वडा नं ७ का अध्यक्ष रमेश श्रेष्ठका अनुसार वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजनको नर्सरी तथा आवास क्षेत्र पछाडिको करिब १० रोपनी जग्गामा पार्क निर्माणको प्रस्ताव गरिएको थियो। तर उक्त क्षेत्र बराहपाखो सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत पर्ने भएकाले वन क्षेत्रमा काम गर्न हिच्किचाहट देखिँदा योजना अघि बढ्न सकेन।यदि प्रस्तावित स्थानमा निर्माण सम्भव नभएमा महारानी थानस्थित बराहपाखोको सार्वजनिक जग्गामा पहिले नै बनेका पूर्वाधारलाई व्यवस्थित गरेर पार्क सञ्चालन गर्ने विकल्प पनि अघि सारिएको छ। त्यहाँ पोखरी, चौतारी र जग्गा व्यवस्थापनजस्ता काम भइसकेका छन्। २०६० साल चैत ७ गते भएको बेनी भिडन्तसँग सम्बन्धित सामग्री राखेर शान्ति पार्क बनाउने अवधारणा अघि सारिएको थियो। पछिल्ला तीन वर्षदेखि यो योजना नगरपालिकाको प्राथमिकतामा परे पनि कार्यान्वयन हुन सकेको छैन।
नगरप्रमुख सुरत केसीका अनुसार पार्क निर्माणस्थल टुङ्गो लगाउन वडा नं ७ र ८ मा आमभेला आयोजना गरी स्थानीयसँग परामर्श लिने तयारी भइरहेको छ। रासस

Online Arthik










