शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ बीच सोमबार सिंहदरबार मा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे विस्तृत छलफल भएको थियो। विशेषगरी विद्यालय पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार, संस्थागत सुदृढीकरण तथा समसामयिक विषयहरूमा कुराकानी केन्द्रित थियो। त्यसैगरी, नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि दुवै पक्षबीच सहमति बनेको छ। मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाहरू छिटो सम्पन्न गर्न, डिजिटल शिक्षा प्रवर्द्धन गर्न तथा नेपाली विद्यार्थीहरूको रुचिअनुसार चिनियाँ छात्रवृत्ति कार्यक्रम विस्तार गर्न चीन सरकारको ध्यानाकर्षण गराएका थिए।
राजदूत माओमिङले नेपाल सरकारका प्राथमिकताहरूमा चीन सकारात्मक रहेको र साझेदारी तथा सहकार्यलाई अझ मजबुत बनाउन इच्छुक रहेको बताएका छन्।

Online Arthik










