धवलागिरि गाउँपालिका–४ बगर क्षेत्रमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ तथा प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ।

बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग विस्तार गरिएको छ। बगर–तातोपानी खण्डमा सडक निर्माण नसकिएकाले म्याग्दी नदी किनारैबाट वैकल्पिक डाइभर्सन सडकमार्फत पहुँच सुनिश्चित गरिएको छ। साथै, आयोजनाले बगरमै कार्यालय स्थापना गरिसकेको छ।विद्युत्गृहबाट निस्कने पानी व्यवस्थापनका लागि १,१३० मिटर लामो टेलरेस सुरुङ निर्माण कार्य सुरु गरिएको छ। सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चर ले विद्युत्गृह, बाँध तथा मुख्य सुरुङ निर्माणको तयारी गरिरहेको जनाएको छ।म्याग्दी खोलाकुनाबाङ खोला को दोभानमा बन्ने बाँधबाट सङ्कलित पानी ७५ मिटर लामो र ११.९ मिटर अग्लो डिसेन्डरमार्फत प्रशोधन गरिनेछ। त्यसपछि ७१० मिटर पाइपलाइन हुँदै ३,६०० मिटर लामो सुरुङमा पठाइनेछ। पुनः ७५० मिटर पाइपलाइनमार्फत ६०७ मिटर उचाइबाट भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने योजना रहेको छ।रन अफ रिभर प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल, ५८७ मिटर इनक्लाइन्ट टनेल र ७५७ मिटर पेनस्टक पाइप जस्ता संरचना निर्माण गरिनेछन्। विद्युत्गृहमा तीनवटा टर्बाइन जडान गरिनेछ।

आयोजनाबाट सुक्खायाममा प्रतिघण्टा ११७.८२ गिगावाट र बर्खायाममा २६४.४५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया