उत्तरी नाका रसुवागढी बाट चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। रसुवा भन्सार कार्यालय टिमुरे का अनुसार उक्त अवधिमा ६ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। नेपाल–चीन व्यापारको महत्वपूर्ण नाका मानिने रसुवागढीबाट रोल कपडा, तयारी पोसाक, विद्युतीय गाडी, जलविद्युत् आयोजनाका सामग्री, स्याउ, लसुन र औद्योगिक मेसिनरी जस्ता वस्तु आयात हुने गरेका छन्। नेपालबाट भने हस्तकला, परम्परागत कपडा, बाँसका सामग्री, सुक्खा घाँस, चाउचाउ र बिस्कुट गरी करिब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

गत असारमा आएको बाढीले मितेरी पुल बगाउँदा केही समय व्यापार प्रभावित भए पनि पुस १७ गतेदेखि पुनः नियमित सञ्चालनमा आएको छ। ऐतिहासिक रूपमा भृकुटीश्रङ्चङ गम्पो बीचको सम्बन्धपछि सुरु भएको व्यापारिक मार्ग आज आधुनिक स्वरूपमा विकास भई रसुवागढी नेपालको प्रमुख उत्तरी व्यापारिक प्रवेशद्वार बनेको छ।

यद्यपि, बाढी–पहिरो, कमजोर सडक अवस्था र सीमित पूर्वाधारका कारण व्यापारमा चुनौती कायमै रहेको छ। व्यवसायी तथा कर्मचारीहरूले सडक स्तरोन्नति, सुरक्षित गोदाम, जाँचपास स्थल र कार्य वातावरण सुधार गर्न सरकारसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया