एभरेष्ट कलर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता आईपीओ जारी गरेको थियो। उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।कम्पनीलाई रेटिङ संस्था CARE Ratings Nepal ले ‘केयर एनपी डबल बी’ इस्स्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।आईपीओ निष्कासन छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको व्यवस्था पनि गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

तपाईको प्रतिक्रिया