मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार १३ गते सातौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले बनेपास्थित होटल उग्रचण्डीमा बिहान १०ः३० बजेदेखि सभा गर्ने निर्णय गरेको हो। सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन पारित गर्ने तथा तीनवटै संस्थाबीच हालसम्म भएका निर्णय र कामकारवाहीलाई अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। साधारण सभा प्रयोजनका लागि संस्थाले असार ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

तपाईको प्रतिक्रिया