मध्यपूर्वमा इरान र इजरायलबीच पुनः सैन्य तनाव चर्किएपछि विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ। ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको विश्लेषण गरिएको छ।

आज ब्रेन्ट क्रुडको मूल्य ३.६५ प्रतिशत अर्थात् ३.४० अमेरिकी डलरले बढेर प्रतिब्यारेल ९६.४९ डलर पुगेको छ। त्यस्तै, डब्लुटीआई (WTI) क्रुडको मूल्य ३.५९ प्रतिशत अर्थात् ३.२५ डलरले वृद्धि भई प्रतिब्यारेल ९३.७९ डलर पुगेको छ।बजार विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो भू-राजनीतिक तनावका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा जोखिम बढेको छ। विशेषगरी तेल उत्पादन तथा ढुवानीसँग सम्बन्धित क्षेत्रहरू प्रभावित हुन सक्ने आशंकाले लगानीकर्ताहरू सतर्क बनेका छन्।यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (IRGC) ले इजरायलविरुद्धको क्षेप्यास्त्र आक्रमण आगामी एक सातासम्म जारी रहन सक्ने चेतावनी दिएपछि बजारमा थप अस्थिरता देखिएको छ।अर्कोतर्फ, डोनाल्ड ट्रम्पले इजरायललाई प्रतिशोधात्मक कदम नचाल्न आग्रह गर्ने बताएका छन्। उनले इरानसँग सम्भावित समझदारी नजिक पुगेको दाबी समेत गरेका छन्। तर इजरायली सैन्य पक्षले आवश्यक आदेश प्राप्त भएमा सैन्य कारबाही जारी राख्ने संकेत दिएको छ।

विश्लेषकहरूका अनुसार यदि तनाव अझ बढ्दै गएर तेल आपूर्ति मार्ग वा उत्पादन केन्द्रहरू प्रभावित भएमा आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा थप दबाब देखिन सक्नेछ। यसको प्रभाव इन्धन आयातमा निर्भर मुलुकहरू, विशेषगरी नेपालजस्ता देशको व्यापार घाटा र मुद्रास्फीतिमा समेत पर्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया