फिलिपिन्स मा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण धेरै घर तथा भवनहरू क्षतिग्रस्त भएका छन्। प्रारम्भिक विवरणअनुसार भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्। 
उद्धार तथा खोजी कार्य जारी रहेकाले क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पपछि प्रभावित क्षेत्रका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। साथै फिलिपिन्स, इन्डोनेसिया र मलेशियाका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।भूकम्प फिलिपिन्सको दक्षिणी टापुमिन्डानाओ मा रहेको जनरल सन्तोससहरको तटीय क्षेत्र नजिक स्थानीय समयअनुसार बिहान ७:३७ बजे गएको हो। नेपाली समयअनुसार उक्त भूकम्प बिहान ५:२२ बजे महसुस गरिएको थियो। भूकम्पको तीव्रता र गहिराइबारे विभिन्न निकायले फरक–फरक विवरण सार्वजनिक गरेका छन्।फिलिपिन्स ज्वालामुखी र भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर थियो।

यद्यपि, संयुक्त राज्य अमेरिका भूगर्भीय सर्वेक्षणले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड तथा गहिराइ ३५ किलोमिटर रहेको जनाएको छ। त्यस्तै GFZ जर्मन भू-विज्ञान अनुसन्धान केन्द्रले पनि भूकम्प ७.८ म्याग्निच्युडको रहेको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जानकारी दिएको छ।प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रमा ३ मिटरसम्म अग्ला छाल उठ्न सक्ने चेतावनी दिएको छ। इन्डोनेसिया र मलेसियाका केही तटीय क्षेत्रमा भने १ मिटरसम्म अग्ला छाल आउने जोखिम औंल्याइएको छ।भूकम्पको केन्द्रबिन्दु नजिक रहेको जनरल सान्तोस क्षेत्रमा धेरै घर तथा भवनमा क्षति पुगेको छ। प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानतर्फ जान आग्रह गरेको छ। अधिकारीहरूका अनुसार मुख्य भूकम्पपछि पनि लगातार परकम्पहरू महसुस भइरहेका छन्।

फिलिपिन्स प्रशान्त महासागरको रिंग अफ फायर क्षेत्रमा पर्ने भएकाले विश्वका सबैभन्दा बढी भूकम्प र ज्वालामुखी गतिविधि हुने मुलुकहरूमध्ये एक मानिन्छ। यस क्षेत्रमा पृथ्वीका टेक्टोनिक प्लेटहरू सक्रिय रहने भएकाले ठूला भूकम्प बारम्बार आउने गर्छन्।

तपाईको प्रतिक्रिया