सेवा र विकासका लागि युवा सेवा र विकासका लागि युवा ले देशका १९ जिल्लामा अध्ययनरत करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ। संस्थाले आइतबार पत्रकार सम्मेलन गर्दै “शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३” सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट तथा दार्चुला लगायत जिल्लाका गरिब, जेहेन्दार तथा आवश्यकतामा परेका विद्यार्थीहरूलाई लक्षित गरी सामग्री वितरण गरिनेछ।कार्यक्रमअन्तर्गत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश, क्याप लगायतका शैक्षिक सामग्री उपलब्ध गराइनेछ।२०७५ साल फागुन १५ गते चितवनमा स्थापना भएको यो संस्था शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय रहँदै आएको छ। संस्थाले हालसम्म करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, विपद् राहत तथा उद्धार, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन, सरसफाइ अभियान तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेलले विद्यार्थी राष्ट्रको वर्तमान र भविष्य भएकाले उनीहरूको शैक्षिक विकासमा सहयोग गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। उनले दुर्गम तथा आवश्यकतामा परेका क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने जानकारी दिए।संस्थाले उक्त कार्यक्रमका लागि आवश्यक शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको जनाएको छ। भारतले नेपालमा शिक्षा क्षेत्रसँग सम्बन्धित छात्रवृत्ति, विद्यालय तथा क्याम्पस भवन निर्माण, पुस्तकालय स्थापना, छात्रावास निर्माण तथा विद्यालय बस उपलब्ध गराउनेजस्ता विभिन्न सहयोग गर्दै आएको उल्लेख गरिएको छ।
संस्थाले कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम, शिक्षाप्रेमी, सामाजिक संघसंस्था तथा सरोकारवाला सबै पक्षसँग सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरेको छ।

Online Arthik










