ग्लोबल आइएमई बैंक लिमिटेडभाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर बीच ग्राहकहरुलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहकार्य सुरु गरिएको बैंकले जनाएको छ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सम्पूर्ण स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा ‘अन–द–फ्लाई’ ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने व्यवस्था गरिएको छ।ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधिमा किस्ताबन्दीमार्फत रकम भुक्तानी गर्न सक्नेछन्। बैंकका अनुसार यस योजनामा कुनै ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन।यस सुविधाले विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल आर्थिक भार कम गर्दै योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ।यसै सहकार्यअन्तर्गत भाटभटेनीका नियमित ग्राहकलाई लक्षित गर्दै विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ पनि जारी गरिने भएको छ। ग्राहकको आर्थिक व्यवहार तथा पछिल्ला तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा निर्धारण गरिने बैंकले जनाएको छ।

प्रारम्भिक चरणमा उक्त कार्ड भाटभटेनी तथा यसको नेटवर्कभित्र मात्र प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ। कार्डमार्फत ग्राहकहरुले सहज भुक्तानी, विशेष अफर, छुट तथा विभिन्न ग्राहकमुखी योजनाहरुको लाभ लिन सक्नेछन्।

तपाईको प्रतिक्रिया