कुमारी बैंक लिमिटेडले आइएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा ‘उद्यम स्रोत योजना (इआरपी)’ मा आधारित एकीकृत डिजिटल कर्जा प्लेटफर्म सार्वजनिक गरेको छ। बैंकले उक्त प्रणालीमार्फत व्यवसायी ग्राहकहरूलाई बिनाधितो कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ, जसले परम्परागत कागजी प्रक्रिया र शाखामा धाउनुपर्ने झन्झटलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

नयाँ प्लेटफर्ममार्फत कर्जा आवेदनदेखि स्वीकृति, वितरण तथा भुक्तानीसम्मका सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाटै सम्पन्न गर्न सकिनेछ। ‘उद्यम स्रोत योजना प्रणाली’सँग प्रत्यक्ष एकीकरण गरिएकाले व्यवसायहरूको बिक्री, कारोबार र मौज्दातसम्बन्धी वास्तविक समयका तथ्यांकका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सकिने बैंकले जनाएको छ।तथ्यांकमा आधारित यस प्रणालीले छिटो, पारदर्शी र सटीक कर्जा निर्णयमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। साथै, परम्परागत धितोको आवश्यकता बिना नै व्यवसायहरूलाई वित्तीय पहुँच प्रदान गर्न सक्ने भएकाले विशेषगरी साना तथा मझौला उद्यम (एसएमई) हरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।बैंकका अनुसार उक्त प्रणाली प्रयोग गर्ने व्यवसायहरूले आफ्नो कारोबार तथा कार्यसम्पादनका आधारमा अधिकतम ५ लाख रुपैयाँसम्म चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्। यस्तो कर्जा १२ महिनासम्म समान मासिक किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।कुमारी बैंकले सेवाको प्रयोग र मागअनुसार भविष्यमा कर्जा सीमा वृद्धि गर्दै प्रणालीलाई थप प्रभावकारी बनाउने योजना रहेको जनाएको छ। नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा विस्तार तथा वित्तीय पहुँच अभिवृद्धि गर्ने नीतिअनुरूप ल्याइएको यो पहलले देशमा डिजिटल बैंकिङ र वित्तीय समावेशीकरणलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।

हाल देशभर २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको कुमारी बैंकले प्रविधिमैत्री बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै डिजिटल वित्तीय रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गरिरहेको जनाएको छ। बैंकले आगामी दिनमा पनि सहज, छिटो र प्रभावकारी सेवा प्रवाहका लागि यस्ता नवप्रवर्तनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया