नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु हुँदैछ। यससँगै सरकारले बजेटमार्फत ल्याएका सबै विधेयक कार्यान्वयनमा आउनेछन्। नयाँ व्यवस्थाअनुसार सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) को दर बढ्ने भएको छ।

अब एक वर्षभन्दा कम अवधि होल्ड गरिएको सेयर बिक्री गर्दा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरिएको सेयर बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ। यसअघि भने एक वर्षभन्दा कम अवधि होल्ड गरिएको सेयर बिक्रीमा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरिएको सेयर बिक्रीमा ५ प्रतिशत कर लाग्दै आएको थियो। त्यसैले आजसम्म हुने सेयर कारोबारमा भने पुरानै करदर लागू हुनेछ। नयाँ आर्थिक वर्षदेखि सूचीकृत सेयर बिक्री गर्दा ब्रोकरमार्फत काटिने पूँजीगत लाभकरलाई नै ‘फाइनल ट्याक्स’ (अन्तिम कर) मानिने व्यवस्था पनि लागू हुनेछ। यसपछि व्यक्तिगत लगानीकर्ताले सोही आम्दानीमा थप करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने छैन।

संस्थागत लगानीकर्ताका लागि भने छुट्टै कर व्यवस्था यथावत् रहनेछ। सरकारले पूँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता दिएसँगै कर प्रशासनसँग सम्बन्धित विवाद तथा व्याख्यामा स्पष्टता आउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया