संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।

नवनिर्मित आवासीय भवनमा ६० जना सम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्ने सुविधा हुनेछ। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवासीय पूर्वाधार समावेश गरिएका छन्। यसअघि फाउन्डेसनले सीमित स्रोत–साधनका बीच भाडाको सानो घरबाट सेवा सञ्चालन गर्दै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप उपलब्ध गराउने संस्थाको क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यलाई पनि आफ्नो सफलताको महत्वपूर्ण आधार मान्ने बताए। उनले त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उल्लेख गरे।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जिम्मेवार व्यावसायिक अभ्यास तथा प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत जीवन बीमा सेवासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया