सरकारको सेवा प्रवाहलाई डिजिटलमैत्री बनाउने लक्ष्यअनुसार कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको पहलमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ। पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएको परीक्षण सफल भएपछि आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ।

कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा कम्प्युटर, थर्मल प्रिन्टर, स्क्यानरलगायत आवश्यक उपकरण उपलब्ध गराइनेछ। साथै, विद्युत् तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोस्टहरूमा पनि क्रमशः ई–टिकेटिङ सेवा विस्तार गर्ने योजना रहेको छ।

मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ। मन्त्री गीता चौधरीका अनुसार यो प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीले सहज र गुणस्तरीय सेवा प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया