फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म व्यवसायको आकार केही घटे पनि वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ। संस्थाको खुद नाफा ७३.६३ प्रतिशतले बढेर १९ करोड ७ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ५०.७६ प्रतिशतले वृद्धि भई १३ करोड ६२ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा कम्पनीले करसहित करिब १०.१३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिएको छ। सञ्चालन मुनाफा ७३.०५ प्रतिशतले बढेर २७ करोड २८ लाख रुपैयाँ पुगेको छ भने ब्याज खर्च ४७.६९ प्रतिशतले घटेपछि खुद ब्याज आम्दानी ७.४७ प्रतिशतले बढेर २२ करोड ७५ लाख रुपैयाँ पुगेको छ। संस्थाको निष्क्रिय कर्जा (एनपीएल) ३.८४ प्रतिशतबाट घटेर २.८८ प्रतिशतमा झरेको छ भने नेट एनपीएल शून्य प्रतिशतमा कायम रहेको छ। प्रतिसेयर आम्दानी (ईपीएस) ८.१७ रुपैयाँबाट बढेर १४.१८ रुपैयाँ पुगेको छ, रिटर्न अन इक्विटी (आरओई) १०.३३ प्रतिशत तथा रिटर्न अन एसेट (आरओए) ३.३५ प्रतिशत पुगेका छन्। यद्यपि कुल सम्पत्ति, कर्जा प्रवाह र सापटी रकम घटेको छ, कुल इक्विटी १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने पुँजीकोष अनुपात ३५.४३ प्रतिशतमा उक्लिएको छ। समग्रमा, लागत नियन्त्रण, खराब कर्जा घटाउने रणनीति, पुँजी पर्याप्तता र नाफाको गुणस्तर सुधारका कारण व्यवसायको आकार खुम्चिए पनि संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सुदृढ वित्तीय प्रदर्शन गर्न सफल भएको देखिएको छ।

Online Arthik










