कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशत बढी हो। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.३२ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.१२ प्रतिशतले वृद्धि भएको छ। सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले बढेपछि बैंकको नाफामा उल्लेखनीय सुधार आएको हो। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १५.१६ रुपैयाँ पुगेको छ। यद्यपि खराब कर्जा (एनपीएल) ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ। तर, इम्पेयरमेन्ट चार्ज ४१ करोड ८१ लाख रुपैयाँबाट घटेर १३ करोड ६५ लाख रुपैयाँमा सीमित भएकाले नाफा बढ्न टेवा पुगेको बैंकले जनाएको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २२.७५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१.०१ रुपैयाँ र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २०.८४ गुणा रहेको छ। बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ र जगेडा कोष २ अर्ब ७४ करोड २४ लाख रुपैयाँ रहेको छ।

Online Arthik










