ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म बन्द रहँदा करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो। आवश्यक नियन्त्रणका उपाय पूरा भएपछि साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो।चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण नियन्त्रणका लागि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी एवं रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।सङ्क्रमणअघि सामान्य दिनमा दैनिक १,७०० देखि १,८०० जना आगन्तुक चिडियाखाना पुग्ने गरेका थिए। शनिबार ५,००० देखि ७,००० र आइतबार ३,५०० देखि ५,००० जनासम्मको उपस्थिति रहने गरेको थियो। तर पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते भने केवल ८०० जनाले मात्रै चिडियाखाना भ्रमण गरेका थिए। हाल चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकबाट १०० रुपैयाँ, विद्यार्थीबाट १५० रुपैयाँ र अन्य आगन्तुकबाट २५० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा २१ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा उक्त लक्ष्य हासिल गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ।
हाल टिकट काउन्टर बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ भने सबै आगन्तुकले साँझ ५ बजेसम्म चिडियाखाना छाड्नुपर्ने व्यवस्था गरिएको छ। सङ्क्रमणअघि भने टिकट काउन्टर साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको थियो।

Online Arthik










