काठमाडौंको ट्राफिक जाम कम गर्ने अपेक्षासहित निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन १२ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण कार्य सम्पन्न भइसकेको सुरुङमार्गमा अहिले प्राविधिक परीक्षण र अन्तिम तयारी भइरहेको छ।

सडक विभागका अनुसार सुरुङमार्ग सुरुमा सीमित समयका लागि मात्र सञ्चालन गरिनेछ। नेपालमा पहिलोपटक यस्तो पूर्वाधार सञ्चालन हुन लागेकाले चालक र सर्वसाधारणलाई प्रणालीसँग अभ्यस्त बनाउन चरणबद्ध रूपमा सेवा विस्तार गरिने योजना बनाइएको हो।सुरुङमार्गभित्र १५ वटा अत्याधुनिक जेट फ्यान जडान गरिएको छ, जसले धुवाँ र कार्बन मोनोअक्साइडको मात्रा अनुसार स्वतः सञ्चालनको गति परिवर्तन गर्नेछन्। बाहिरको मौसमअनुसार सुरुङभित्रको उज्यालो मिलाउने स्मार्ट लाइटिङ प्रणाली पनि जडान गरिएको छ।सुरक्षालाई प्राथमिकता दिँदै हरेक ५० मिटरमा फायर हाइड्रेट, स्वचालित आगलागी चेतावनी प्रणाली, दुईवटा ५ हजार लिटर क्षमताका दमकल र २४सै घण्टा तयारी अवस्थामा रहने फायर फाइटरको व्यवस्था गरिएको छ। आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहका दमकलसँग समेत समन्वय गरिनेछ।सुरुङमार्ग सञ्चालनका लागि १४६ जनाको टोली परिचालन गरिनेछ। अधिकांश नेपाली कर्मचारी रहने भए पनि सुरुङ सञ्चालनको अनुभवका कारण पाँच जना विदेशी विज्ञले प्रारम्भिक चरणमा प्राविधिक नेतृत्व र मार्गदर्शन गर्नेछन्।सञ्चालनको पहिलो २–३ सातासम्म परीक्षणका रूपमा यात्रुवाहक बसलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिने योजना रहेको छ। सुरुमा एकतर्फी बस सञ्चालन गर्ने विषयमा छलफल भइरहेको र त्यसपछि क्रमशः दुईतर्फी बस तथा अन्य सवारी साधनलाई अनुमति दिइनेछ। नागढुंगा चेकपोस्टबाट दैनिक आवतजावत गर्ने करिब ७–८ हजार सवारीमध्ये सुरुवाती चरणमै करिब आधा सवारी सुरुङमार्गतर्फ मोडिने अनुमान गरिएको छ। यसबाट वार्षिक ३० देखि ३५ करोड रुपैयाँ आम्दानी हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ।

हाल सबै प्राविधिक प्रणालीको अन्तिम एकीकृत परीक्षण भइरहेको छ। सञ्चालनका लागि छनोट गरिएका कर्मचारीलाई विशेष तालिम दिइँदैछ भने चिनियाँ र नेपाली प्राविधिकको संयुक्त टोलीले अन्तिम तयारीलाई तीव्रता दिएको छ।

तपाईको प्रतिक्रिया