घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै सरकारले ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्ष २०८२/८३ मा एकै महिनामा उठेको सबैभन्दा उच्च राजस्व हो।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो, जुन आवकै दोस्रो उच्च मासिक आम्दानी हो। त्यसअघि साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड र कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व उठेको थियो। यस्तै मङ्सिरमा ४ अर्ब ८४ करोड, पुसमा ५ अर्ब १७ करोड, माघमा ५ अर्ब, फागुनमा ४ अर्ब १४ करोड, चैतमा ६ अर्ब १६ करोड, वैशाखमा ६ अर्ब २६ करोड र जेठमा ५ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।विभागका अनुसार आगामी साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत घोषणा भएपछि कर वृद्धि लागू हुनुअघि नै कारोबार उल्लेखनीय रूपमा बढेको थियो। यही कारण असार महिनामा घरजग्गा किनबेचसँगै राजस्व सङ्कलनले पनि नयाँ उचाइ कायम गरेको हो।
विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र गोरखा भूकम्पपछिको अवधिमा असार महिनामा घरजग्गा कारोबारबाट भएको यो राजस्व संकलन अहिलेसम्मकै सबैभन्दा उच्च हो।

Online Arthik










