चितवन राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दालाई वन्यजन्तुले पुर्‍याएको क्षतिबापत गत आर्थिक वर्षमा १ करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ। राहत रकम मानवीय क्षति, पशुधन, अन्नबाली, घरगोठ तथा अन्य भौतिक क्षतिको आधारमा प्रदान गरिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि १ लाख ३४ हजार १७६ रुपैयाँ र गम्भीर घाइतेको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रुपैयाँ उपलब्ध गराइएको छ। यस अवधिमा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भएकोमा उनीहरूका परिवारलाई ५० लाख रुपैयाँ राहत प्रदान गरिएको छ। यस्तै, पशुधन क्षतिबापत २३ लाख ६० हजार २०० रुपैयाँ, अन्न भण्डारणमा भएको क्षतिका लागि ७० हजार रुपैयाँ, घरगोठमा भएको क्षतिबापत ३ लाख ३९ हजार ६५० रुपैयाँ, अन्नबाली नोक्सानीबापत २१ लाख ८ हजार ३०० रुपैयाँ तथा कुखुरा क्षतिका लागि ४३ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको निकुञ्जले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिको राहतस्वरूप प्रत्येक वर्ष यस्तो आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया