वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने प्रतिबद्धतालाई थप मजबुत बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो ‘The Goal is Green’ अभियान कार्यान्वयनका लागि WWF नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।

बैंकले यसअघि FIFA World Cup 2026 का प्रत्येक गोल बराबर एउटा रूख रोप्ने घोषणा गरेको थियो। सोही प्रतिबद्धताअनुसार प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने अभियान अघि बढाइएको बैंकले जनाएको छ।

बैंकका अनुसार विश्वव्यापी खेलकुदको उत्साहलाई स्थानीय स्तरको वातावरण संरक्षणसँग जोड्ने उद्देश्यले सुरु गरिएको यो अभियानले निजी क्षेत्रको सहभागितामार्फत दीर्घकालीन वातावरणीय पुनःस्थापनामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

सहकार्यअन्तर्गत WWF नेपालले अभियानका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा रहेको आफ्नो अनुभवका आधारमा WWF नेपालले बैंकलाई स्थानीय संरक्षण साझेदार काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) सँग जोडेको छ।

काम्दी CFCC ले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्ने तथा तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ। WWF नेपालले भने प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान र पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपनलाई बैंकको दीर्घकालीन रणनीतिक प्राथमिकता रहेको उल्लेख गर्दै ‘The Goal is Green’ अभियानले खेलकुदको उत्साहलाई जलवायु संरक्षणसँग जोडेको बताए। WWF नेपालको प्राविधिक अनुभवले अभियानलाई अझ प्रभावकारी र दिगो बनाउने विश्वास उनले व्यक्त गरे।

WWF नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना केवल रूख रोप्नुमा सीमित नभई उपयुक्त स्थानमा रैथाने प्रजातिको छनोट, संरक्षण र स्थानीय समुदायको सक्रिय सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए।

यस्तै, काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले उक्त सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापनासम्बन्धी प्रयासलाई थप प्रभावकारी बनाउने र स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने विश्वास व्यक्त गरे।

बैंकका अनुसार ‘The Goal is Green’ अभियानले दिगोपनलाई वित्तीय सेवामा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्दै ग्राहक, समुदाय र निजी क्षेत्रलाई जलवायु संरक्षण अभियानमा सहभागी गराउने लक्ष्य लिएको छ।