सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कुल १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ योगदान रकम जम्मा भएको छ। सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट उक्त रकम संकलन भएको हो।

कोषका अनुसार हालसम्म २३ हजार ४९० रोजगारदाता र ३० लाख ४३ हजार २०० योगदानकर्ता कोषमा सूचीकृत भएका छन्। यस अवधिमा कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत २१ अर्ब २७ करोड १ लाख २० हजार २५२ रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ। दाबी भुक्तानीमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा शीर्षकमा ३ अर्ब ५२ करोड ५ लाख ४७ हजार ४६२ रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा अन्तर्गत ३० करोड ४६ लाख ६ हजार ५१४ रुपैयाँ, आश्रित परिवार सुरक्षा शीर्षकमा ३८ करोड ४ लाख २५ हजार २१६ रुपैयाँ तथा अवकाश सुरक्षा (पेन्सन) अन्तर्गत १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ रुपैयाँ वितरण गरिएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा समेटिएपछि कोषमा योगदान रकम उल्लेखनीय रूपमा बढेको छ। साथै, पेन्सन, स्वास्थ्य उपचार तथा अन्य सामाजिक सुरक्षा कार्यक्रमको विस्तारसँगै कोषप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।

कोषले संकलित रकम विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न थालेको जनाएको छ। यसबाट योगदानकर्ताको हित संरक्षणसँगै दीर्घकालीन आर्थिक तथा सामाजिक लाभ हासिल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया