आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पतालबीच औषधोपचार बीमा अन्तर्गत नगदरहित उपचार (क्यासलेस हस्पिटलाइजेसन) सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि आइजीआई प्रुडेन्सियलबाट औषधोपचार बीमा खरिद गरेका ग्राहकले आफ्नो बीमालेखको सीमाभित्र जनमैत्री अस्पतालमा नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त गर्न सक्नेछन्।सम्झौताका अवसरमा नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले जनमैत्री अस्पतालमार्फत ग्राहकलाई आइजीआई प्रुडेन्सियलको औषधोपचार बीमा खरिद गरी बीमालेखको सीमासम्म नगदरहित उपचार सेवा लिन प्रेरित गरिने अपेक्षा व्यक्त गरे। साथै अस्पताल तथा त्यससँग आबद्ध सदस्यलाई आवश्यक पर्ने औषधोपचार बीमासहित सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियलबाट ढुक्क भएर लिन आग्रह गरे।

कार्यकारी निर्देशक श्रेष्ठले अस्पतालप्रति सन्तुष्ट सेवाग्राहीको संख्या निरन्तर बढ्दै गएको उल्लेख गर्दै आइजीआई प्रुडेन्सियलबाट प्राप्त हुने बीमा सेवा छिटो, छरितो र प्रभावकारी रहेको बताए। आगामी दिनमा पनि कम्पनीसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै जाने प्रतिबद्धता उनले व्यक्त गरे।

तपाईको प्रतिक्रिया