सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६० करोड ६६ लाख ७१ हजार रुपैयाँको तुलनामा ४६.६९ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशतले बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ थियो। खुद शुल्क तथा कमिसन आम्दानी २५ करोड ७२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यी सूचकहरू क्रमशः २१ करोड ४६ लाख रुपैयाँ, २ अर्ब ४६ करोड ११ लाख रुपैयाँ र ८८ करोड ४४ लाख रुपैयाँ रहेका थिए। गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश क्षमता १३.१९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको १०.३६ प्रतिशतभन्दा उच्च हो। बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ सञ्चित छ।बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ। मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) १६.९५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ कायम भएको छ।असार मसान्तसम्म बैंकले ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ४ प्रतिशत अर्थात् २ अर्ब २६ करोड रुपैयाँ र कर्जा ७ प्रतिशत अर्थात् ३ अर्ब ५ करोड रुपैयाँले वृद्धि भएको छ।

यद्यपि, समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ, जसले सम्पत्ति गुणस्तरमा केही दबाब देखाएको छ।

तपाईको प्रतिक्रिया