पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँले बढी हो।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। राजस्वमा उल्लेखनीय वृद्धि भए पनि वार्षिक लक्ष्य भने पूरा हुन सकेन। गत आर्थिक वर्षका लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले करिब ९३ प्रतिशत मात्र प्रगति हासिल गरेको जनाएको छ।
काँकरभिट्टा नाका पूर्वी नेपालको आयात–निर्यात व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ। यस नाकाबाट चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो र छुर्पीजस्ता कृषिजन्य वस्तु निर्यात हुने गरेका छन् भने पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुँदै आएको छ।

Online Arthik










