अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई साताकै उच्च विन्दुमा पुगेको छ। टेक्निकल बाइङमा वृद्धि, मध्यपूर्वमा चर्किँदै गएको तनाव तथा अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर निर्णयप्रतिको प्रतीक्षाका कारण सुनको माग बढेको हो।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.४१ प्रतिशत अर्थात् ५७ डलरले बढेर प्रतिऔंस ४,१३१ डलर पुगेको छ। कारोबारका क्रममा सुनको भाउ जुलाई ७ यताकै उच्च स्तरमा पुगेको थियो। हालैको मूल्य गिरावटपछि लगानीकर्ताले सुनलाई आकर्षक लगानी अवसरका रूपमा हेर्दै पुनः खरिद बढाएका छन्। मध्यपूर्वमा जारी तनावबीच कूटनीतिक समाधानको सम्भावनाले पनि बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।यता, मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा बजारमा समेत दबाब सिर्जना गरेको छ। यमनस्थित इरान समर्थित हुथी समूहको धम्कीपछि साउदी अरबबाट एसियातर्फ गइरहेका तीनवटा कच्चा तेल बोकेका ट्यांकरले रेड सी क्षेत्रमा आफ्नो मार्ग परिवर्तन गरेका छन्, जसले विश्व ऊर्जा आपूर्ति शृंखलामा जोखिम बढाएको छ।तेलको मूल्य बढेसँगै मुद्रास्फीतिको चिन्ता पनि थपिएको छ। यसले अमेरिकी फेडरल रिजर्भले ब्याजदर लामो समयसम्म उच्च राख्न सक्ने अनुमानलाई बल दिएको छ। सामान्यतः उच्च ब्याजदरले ब्याज नदिने सम्पत्ति मानिने सुनमा दबाब पार्ने भए पनि पछिल्लो मूल्य गिरावटपछि बढेको खरिदले सुनको बजारलाई टेवा दिएको छ।यसैबीच, अमेरिकी फेडरल रिजर्भको आगामी बैठकबाट ब्याजदर सम्बन्धी निर्णयको प्रतीक्षामा विश्व बजार रहेको छ।
अन्य बहुमूल्य धातुहरूको मूल्य पनि बढेको छ। चाँदी १.९ प्रतिशतले बढेर प्रतिऔंस ५९ डलर पुगेको छ भने प्लेटिनम २.४ प्रतिशत र प्यालेडियम ३ प्रतिशतले वृद्धि भएको छ।

Online Arthik









