नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ८२ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत साउन ६ गते बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रिया साउन ६ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सञ्चालन हुनेछ। निक्षेप संकलन बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिनेछ। त्यसपछि ५ करोड रुपैयाँको गुणनफलमा पर्ने रकमसम्म, कुल १०० अर्ब रुपैयाँको सीमाभित्र बोल गर्न सकिने व्यवस्था गरिएको छ।यस निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिँदै रकम बाँडफाँड गर्ने जनाएको छ। समान ब्याजदरमा कुल माग आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा रकम बाँडफाँड गरिनेछ।स्वीकृत बोलपत्रअनुसारको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप खातामा जम्मा गरिनेछ। बोलकबोल निष्काशनको दिन खातामा पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोल प्रक्रियामा सहभागी हुन रोक लगाइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २७ गते गरिनेछ।

तपाईको प्रतिक्रिया