नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले व्यवसायीहरूको दैनिक कारोबार, सूचना प्रवाह तथा व्यवसाय व्यवस्थापनलाई डिजिटल माध्यमबाट सहज बनाउन आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। साउन ५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित महासंघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेश कुमार अग्रवालले वेबसाइट र एपको औपचारिक शुभारम्भ गरेका हुन्।
उद्घाटन कार्यक्रममा अध्यक्ष अग्रवालले सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायलाई आधुनिक, व्यवस्थित र पारदर्शी बनाउने महासंघको पहल समयानुकूल र अनुकरणीय रहेको बताए। उनले डिजिटल प्रविधिले व्यवसाय सञ्चालन, सेवा प्रवाह र सूचना आदानप्रदानलाई अझ छिटो, सहज र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। महासंघका अध्यक्ष किसान सुनारले वेबसाइट र मोबाइल एप निर्माणको उद्देश्य सदस्य व्यवसायीलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सूचना, सेवा र व्यवसाय व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराउनु रहेको बताए। उनका अनुसार महासंघलाई प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने रणनीतिअनुसार यो प्रणाली सञ्चालनमा ल्याइएको हो।नयाँ वेबसाइट र मोबाइल एपमार्फत सदस्य व्यवसायीहरूले सुन तथा चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना र परिपत्र, ऐन–नियम तथा निर्देशिका, विभिन्न कार्यक्रमका जानकारी तथा व्यवसाय व्यवस्थापनसँग सम्बन्धित सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। महासंघले यस प्रणालीले व्यवसायलाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।कार्यक्रममा महासंघसँग आबद्ध सदस्य संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको भौतिक र अनलाइन माध्यमबाट उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वेबसाइट र एपको उपयोगिता तथा आगामी दिनमा थप सेवाहरू समावेश गर्न सुझाव दिएका थिए।कार्यक्रमको समापनमा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, सहभागी, सञ्चारकर्मी तथा वेबसाइट र एप विकासकर्ता फेवा टेक्नोलोजी प्रालिको प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै सबै व्यवसायीलाई डिजिटल सेवाको अधिकतम उपयोग गर्न आग्रह गरे।
महासंघले आगामी दिनमा पनि सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै सुनचाँदी तथा आभूषण व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Online Arthik










