नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँको तुलनामा १९.९८ प्रतिशतले कम हो।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५.७१ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा घटेर ४.५७ रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.८९ प्रतिशतले कम हो। त्यस्तै, खुद सञ्चालन आम्दानी पनि घटेर १ अर्ब ७१ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १० करोड ५३ लाख रुपैयाँ रहेको थियो।बैंकको सञ्चालन नाफा पनि १९.७९ प्रतिशतले घटेर १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सञ्चालन नाफा १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ रहेको थियो।वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २१ करोड २७ लाख रुपैयाँले रिभर्सल भएको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) शून्य प्रतिशत रहेको छ भने रिटर्न अन इक्विटी (आरओई) ३.८७ प्रतिशत र कस्ट अफ फण्ड ६.४६ प्रतिशत कायम रहेको छ।यस अवधिमा बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी लगानी ३१ अर्ब ४२ करोड रुपैयाँ कायम रहेको छ।

समीक्षा अवधिको अन्त्यसम्म बैंकको प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ५३.७३ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९३.७४ रुपैयाँ तथा तरलता अनुपात ८३.४७ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया