नेपाल राष्ट्र बैंकले अमेरिकी डलर ५,००० बराबरसम्मको नगद विदेशी मुद्रा भन्सारमा घोषणा नगरी नेपाल ल्याउन सकिने व्यवस्था पुनः स्पष्ट गरेको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी सूचनालाई पुनः स्मरण गराउँदै राष्ट्र बैंकले नेपाली तथा विदेशी नागरिक दुवैले अमेरिकी डलर ५,००० बराबरसम्मको विदेशी मुद्रा (भारतीय रुपैयाँ वा अन्य विदेशी मुद्रासहित) घोषणा नगरी नेपाल भित्र्याउन सक्ने जनाएको हो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर ५,००० भन्दा बढी रकम नगद ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था यथावत् रहेको छ।भारतीय मुद्रासम्बन्धी व्यवस्थाबारे पनि राष्ट्र बैंकले पुनः स्पष्ट पारेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ अघि प्रचलनमा रहेका भारतीय रुपैयाँ ५०० र १,००० दरका नोटको कारोबार नेपालमा निषेध गरिएको छ।यस्तै, सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकका अनुसार नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यस्ता मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन पाउने छैनन्।

यसैबीच, राष्ट्र बैंकले २०८२ भदौ १० गते प्रकाशित सम्बन्धित सूचना खारेज गरिएको पनि जनाएको छ।

तपाईको प्रतिक्रिया