नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) को ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स २०२६’ समारोहमा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।
बैंकले ग्राहकहरूको विश्वास, कर्मचारीहरूको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो सफलता हासिल भएको जनाएको छ। बैंकका अनुसार यस सम्मानले बैंकिङ सेवा, नवप्रवर्तन तथा ग्राहककेन्द्रित सेवालाई अझ प्रभावकारी बनाउँदै लैजान थप प्रेरणा प्रदान गर्नेछ।बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु नबिल बैंकका लागि गौरवको विषय भएको बताए। उनले बैंकलाई निरन्तर साथ, सहयोग र विश्वास गर्ने ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरूको सहभागिता रहेको थियो। इन्डियन चेम्बर अफ कमर्स भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार र लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि पनि नबिल बैंकले युरोमनी अवार्ड्स फर एक्सेलेन्स अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ गरी तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो। बैंकको सुदृढ वित्तीय अवस्था, डिजिटल बैंकिङमा नेतृत्व, ग्राहककेन्द्रित सेवा तथा समग्र बैंकिङ उत्कृष्टताको मूल्याङ्कन गर्दै ती सम्मान प्रदान गरिएको थियो।
निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा रहेको नबिल बैंकले देशभर फैलिएका २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत ग्राहक, समुदाय र देशको समावेशी तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जनाएको छ।

Online Arthik










