ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइन बैंक खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ। अब नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रका आधारमा घरबाटै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।
बैंकका अनुसार नागरिक एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी बैंकको वेबसाइटमार्फत सहज रूपमा खाता खोल्न सकिनेछ। नागरिक एपसँग प्रत्यक्ष आबद्ध भई यस्तो सेवा सुरु गर्ने नेपालकै पहिलो बैंक भएको ग्लोबल आइएमई बैंकले जनाएको छ। यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र भएका तथा नागरिक एपमा आबद्ध नेपाली नागरिकका लागि उपलब्ध हुनेछ। खाता खोल्ने क्रममा ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने भएकाले विवरण पुनः भर्नुपर्ने झन्झट हट्ने बैंकले जनाएको छ। यसबाट ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा पनि सुनिश्चित हुने विश्वास बैंकको छ।नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालनमा ल्याउन भने ग्राहकले नजिकको शाखामा पुगेर वा भिडियो केवाईसी (KYC) मार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरु गरिएको यो सेवाले सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ विस्तारमा टेवा पुर्याउनेछ। साथै, नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई अझ सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।आधुनिक प्रविधिमा आधारित सेवा र ग्राहकमैत्री बैंकिङका लागि परिचित ग्लोबल आइएमई बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ सहित विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।
हाल बैंकले देशभर ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याएर राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्याइरहेको बैंकले जनाएको छ।

Online Arthik










