सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत मंगलबार सार्वजनिक गर्ने भनिएको चिठ्ठाको नतिजा तत्कालका लागि स्थगित गरिएको छ। आन्तरिक राजस्व विभागले मुलुकमा देखिएको विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको जनाएको हो।
कार्यक्रमअन्तर्गत यसअघि दुई चरणमा चिठ्ठा खोलिसकिएको छ। पछिल्लो चरणका लागि भदौ १५ गतेसम्म भएका योग्य कारोबारबाट तयार भएका कुपन सोमबार चिठ्ठामार्फत छनोट गरिएको थियो। ती कुपनबाट छनोट भएका विजेताको नाम मंगलबार सार्वजनिक गर्ने तयारी थियो। तर, विपद्को अवस्थालाई ध्यानमा राख्दै उक्त कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ। नतिजा स्थगित भए पनि योग्य कारोबारका आधारमा कुपन तयार हुने प्रक्रिया भने नियमित रूपमा सञ्चालन हुनेछ। प्रणालीमा योग्य कारोबारअनुसार नयाँ कुपन थपिँदै जाने र हाल तयार भएका कुपन सुरक्षित रहने विभागले स्पष्ट पारेको छ। स्थगित भएको चिठ्ठा र त्यसपछिको अर्को चरणको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ। नयाँ मिति तथा संयुक्त चिठ्ठामा समेटिने कारोबार अवधिबारे विभागले औपचारिक सूचना जारी गर्नेछ।
उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीमा सहभागिता बढाउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको हो। योग्य कारोबार गर्ने उपभोक्तालाई कुपन उपलब्ध गराइने र ती कुपनमध्येबाट चिठ्ठामार्फत विजेता छनोट गरी नगद पुरस्कार प्रदान गर्ने व्यवस्था छ। विभागले चिठ्ठा स्थगित भए पनि योग्य बिल काट्ने उपभोक्ताको सहभागिता र कुपन थपिने प्रक्रियामा कुनै असर नपर्ने जनाएको छ।

Online Arthik










