लमजुङको क्व्होलासोथार गाउँपालिकामा निर्माण सुरु भएको सात वर्ष पुग्न लाग्दा पनि बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्पन्न हुन सकेको छैन। २०७६ असोज ३० गते निर्माण सम्झौता भएको १७ किलोमिटर सडक २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि पटकपटक म्याद थप्दा समेत निर्माण कार्य पूरा हुन नसकेको हो।

कान्छाराम कन्स्ट्रक्सनले रु. ३६ करोड ६६ लाख ६८ हजार १७५ मा ठेक्का लिएको उक्त आयोजनाअन्तर्गत बाग्लुङपानीदेखि घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्ने योजना छ। हालसम्म आयोजनाको ७५ प्रतिशत भौतिक तथा ७४ प्रतिशत वित्तीय प्रगति भएको छ भने निर्माण कम्पनीलाई रु. २७ करोड ३७ लाख ४६ हजार ९८२ भुक्तानी भइसकेको छ।

बाग्लुङपानी–घलेगाउँ खण्डमा ५ हजार ५०० मिटर कालोपत्र भइसकेको छ भने ४ हजार ५०० मिटर बाँकी छ। त्यस्तै, घलेगाउँ–भुजुङ खण्डमा दुई किलोमिटर ग्राभेल भएको छ भने पाँच किलोमिटर ग्राभेल गर्न बाँकी छ। करिब ४ हजार ९०० घनमिटर नाली निर्माण गर्नुपर्नेमा २ हजार ७२९ घनमिटर निर्माण भएको छ। तीन हजार १८७ घनमिटर ढलान गर्नुपर्नेमा हालसम्म २०१ घनमिटर मात्रै ढलान भएको छ। कल्भर्ट तथा पर्खाल निर्माणका केही कामसमेत बाँकी छन्।

निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजनाको म्याद पहिलोपटक २०७९ असोज २९ गतेसम्म, दोस्रोपटक २०८१ असार २८ गतेसम्म र तेस्रोपटक २०८२ चैत ३० गतेसम्म थप गरिएको थियो। हाल भने आयोजनाको म्याद थप भएको छैन। सार्वजनिक खरिद ऐन संशोधनपछि सरकारले तोकेको मापदण्ड पूरा गर्ने निर्माण व्यवसायीलाई पुनः म्याद थप गरी काममा लगाउन सकिने व्यवस्था गरेपछि कान्छाराम कन्स्ट्रक्सनले साउन ४ गते म्याद थपका लागि निवेदन दिएको पूर्वाधार विकास कार्यालयका परामर्शदाता राजेश अधिकारीले बताएका छन्।

म्याद थपसम्बन्धी प्रक्रिया टुङ्गो नलागेकाले पछिल्लो समय निर्माण कार्य अघि बढ्न नसकेको अधिकारीको भनाइ छ। गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको यो सडक आयोजना सम्पन्न भएपछि क्व्होलासोथारका पर्यटकीय क्षेत्र घलेगाउँ र भुजुङ सडक सञ्जालमा सहज रूपमा जोडिनेछन्। यसले स्थानीयवासीको आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया