भोटेकोशीलगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ लाख २० हजार २४९ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। राहत रकम संस्थाका सञ्चालक, कर्मचारी परिवार तथा संस्थाको सामूहिक योगदानबाट जुटाइएको जनाइएको छ। सहयोग हस्तान्तरण गर्दै अध्यक्ष राईले लघुवित्त संस्थाहरू समुदायको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने भएकाले विपद्को समयमा पनि समाज र समुदायसँगै उभिनुपर्ने बताउनुभयो। उहाँले विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।प्रमुख कार्यकारी अधिकृत पौडेलले संस्थाले ‘ग्राहक सदस्य पहिलो’ भन्ने मूल नीतिअनुसार वित्तीय कारोबारसँगै वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
संस्थाले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको यथाशीघ्र खोज तथा उद्धार सफल होस् भन्ने कामनासमेत गरेको छ। संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण तथा समुदायप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ।

Online Arthik










