एभरेष्ट बैंक लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे साधारण सभा गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका प्रस्तावमा छलफल तथा निर्णय हुनेछ। साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले असोज १ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Online Arthik










